
एजेन्सी । जर्मन महारथी बायर्न म्युनिख डिएफबी पोकलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
बुधवार राति भएको खेलमा एफएसभी माइन्ज ०५ माथि ४–० को फराकिलो जित निकाल्दै बायर्न म्युनिख जर्मन प्रतिष्ठित प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो ।
मेवा एरिना रंगशालामा भएको खेलमा म्युनिखलाई जिताउन युवा मिडफिल्डर जमाल मिसियालाले ह्याट्रिक हान्दा लेरोय सानेले एक गोल थपे ।
खेल सुरु भएको दोस्रो मिनेटमै ह्यारी केनको पासमा मुसियालाले गोल गर्दै जर्मन महारथी क्लबलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ३७ औं मिनेटमा मुसियालाले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा म्युनिख २–० ले अघि बढ्यो ।
त्यस्तै, पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अलफान्सो डाभेसको पासमा सानेले गोल गर्दा उपाधि दावेदार टोली ३–० ले अघि बढ्यो ।
यता, इन्जुरी समयकै चौथौं मिनेटमा मुसियालाले ह्याट्रिक पूरा गर्दा म्युनिख पहिलो हाफमै ४–० ले अघि बढ्यो ।
खेलको दोस्रो हाफमा भने कुनै गोल भएन ।