एजेन्सी । युरोपेली फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता युईएफए युरोपियन फुटबल च्याम्पियनसिप (युरो कप) को फाइनल खेल आइतवार राति हुँदैछ ।

विश्व फुटबलमा फिफा विश्वकप पछि लोकप्रिय मानिएको प्रतियोगिताको १७ औं संस्करणको उपाधिका लागि स्पेन र इंग्ल्याण्ड आमनेसामने हुने भएको हो ।

जर्मनीको बर्लिनस्थित ओलम्पियास्टाडिअन रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार राति पौने एक (१२ः४५) बजे सुरु हुने तालिका रहेको छ ।

युरोपेली फुटबलकै दुई महाशक्ति राष्ट्रबीचको भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

दुबै टोली स्टार खेलाडीहरुले भरिएका छन् ।

उसो त स्पेनलाई उपाधिका लागि तुलनात्मक रुपमा बलियो मानिएको छ ।

स्पेनले जारी युरोमा ६ खेल खेल्दा शतप्रतिशत जित आत्मसाथ गर्दै फाइनलसम्मको यात्रा तय गरेको हो ।

स्पेनले समूह चरणमा क्रोएसियालाई ३–०, साविक विजेता इटालीलाई १–०, अल्बानियालाई १–० ले पाखा लगाउँदा अन्तिम १६ मा जर्जियालाई ४–१, क्वाटरफाइनलमा घरेलु टोली जर्मनीलाई २–१ रन सेमिफाइनलमा बलियो फ्रान्सलाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

यता, थ्री लायन्सका रुपमा समेत परिचित इंग्ल्याण्डले भने समूह चरणमा सर्बियालाई १–० ले पराजित गर्दा डेनमार्कसंग १–१ र स्लोभेनियासंग गोलरहित बराबरी खेलेको थियो ।

त्यस्तै, अन्तिम १६ मा स्लोभाकियालाई २–१ ले पराजित गर्दा क्वाटरफाइनलमा भने स्विजरल्याण्डलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो ।

यता, सेमिफाइनलमा भने इंग्ल्याण्डले नेडरल्याण्ड्समाथि २–१ को जित रच्दै फाइनल यात्रा सुनिश्चित गर्यो ।

यी दुई टोलीको फाइनलसम्मको यात्रालाई विश्लेषण गर्ने हो भने पनि स्पेनले बलियो टोलीहरुलाई पराजित गर्दै अघि बढेको देखिन्छ ।

तर, उपाधिका लागि मैदानमा उत्रिदै गर्दा विगतको नतिजाले खासै अर्थ राख्ने देखिदैन ।

स्पेनले सन् १९६४, २००८ र २०१२ मा गरि तीनपटक युरोको उपाधि उचालिसकेको छ ।

यता, इंग्ल्याण्डमै भएको पछिल्लो युरोमा फाइनलसम्मको यात्रा नै थ्री लायन्सको अहिलेसम्मको ठूलो सफलता हो ।

अतः स्पेन इंग्ल्याण्डलाई पराजित गर्दै चौथौं युरो उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिने तयारीमा रहँदा इंग्ल्याण्डले भने स्पेनलाई स्तब्ध पार्दै पहिलोपल्ट युरोको उपाधि उचाल्ने दाउमा हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.