
भक्तपुर । १० वर्षपछि नेपाल पहिलोपल्ट आज (मंगलवार) आईसीसी टि–२० विश्वकपमा फर्किदै छ ।
नेपालले आज राति नेडरल्याण्डसंग खेल्दै ९ औं संस्करणको टि–२० विश्वकपको यात्रा सुरु गर्नेछ ।
संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राती सवा ९ (९ः१५) बजे सुरु हुने तालिका रहेको छ ।
डच टोलीमाथि जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने नेपालको दाउ रहेको छ ।
विश्वकपमा समूह ‘डी’ मा रहेको नेपालले डच टोलीका अलावा उपाधि दावेदार मानिएको दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताकै कठिन समूह ‘ग्रुप अफ डेथ’ का रुपमा हेरिएको समूहमा रहेको नेपालले कम्तीमा उच्च प्रदर्शन गर्दै दोस्रो चरणसम्म पुग्ने लक्ष्य लिएको छ ।
अमेरिकामा रहेर एक महिना लामो तयारी गरिरहेको नेपालले राम्रो प्रदर्शन गर्ने अपेक्षा राख्न सकिन्छ ।
नेपालले दोस्रो खेल श्रीलंकासँग फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियममा जुन १२ तारिखमा खेल्नेछ भने तेस्रो खेल दक्षिण अफ्रिकासंग वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भाले स्टेडियममा जुन १५ तारिखमा खेल्ने तालिका रहेको छ ।
त्यस्तै, समूह चरणको चौथौं तथा अन्तिम खेल बंगलादेशसँग आर्नोस भाले स्टेडियममै जुन १७ तारिखमा नेपालले खेल्नेछ ।
त्यसअघि सन् २०१४ को पाँचौं संस्करणको आईसीसी टि–२० विश्वकपमा पारस खड्काको कप्तानीमा नेपालले डेब्यु गरेको थियो ।