
एजेन्सी । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपिएल) मा मुम्बई इन्डियन्समाथि जित हासिल गरेको छ ।
बुधवार राति भएको खेलमा सनराइजर्स हैदराबादले पाँचपटकका आईपिएल विजेता मुम्बई इन्डियन्समाथि ३१ रनको जित हासिल गरेको हो ।
महत्वपूर्ण जितसंगै हैदराबादले अंक तालिकामा २ खेलबाट १ मा जित र १ मा हारको नतिजासहित २ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित मुम्बईले भने २ खेल खेलिसक्दा दुबैमा हार बेहोर्दै लिग तालिकामा अंकको खाता खोल्न सकेको छैन ।
हैदराबादको घरेलु मैदान राजिब गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको हाइ स्कोरिङ खेलमा २७८ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २४६ रन जोड्यो ।
मुम्बईका लागि तिलक बर्माले ३४ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६४ रनको अर्धशतकिय पारी खेल्दा टिम डेभिडले २२ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्दै ४२ रन जोडेर अविजित रहे ।
त्यस्तै, नमन धिरले १४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३० रन बनाएर आउट हुँदा विकेटकिपर इशान किसनले १३ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरेर ३४ रन जोड्दै पेविलियन फर्किए ।
यता, पुर्वकप्तान रोहित शर्माले १२ बल खेल्नेक्रममा १ चौका र ३ छक्का प्रहार गर्दै २६ रन जोडेर पेविलियन फर्किदा कप्तान हार्दिक पाण्डेयाले २० बलमा १ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट भए ।
इम्प्याक्ट प्लेयरका रुपमा मैदान प्रवेश गरेका रोमारियो शेफर्डले ६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १५ रन जोडेर अविजित रहे ।
मुम्बईले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
मुम्बईमाथि जित निकाल्न हैदराबादका लागि कप्तान प्याट कमिन्सले ४ ओभर बलिङ गर्दै ३५ रन दिएर २ विकेट लिँदा जयदेब उनादकटले ४ ओभर बलिङ गर्दै ४७ रन खर्चिएर २ विकेट लिए ।
त्यस्तै, शाहबाज अहमेदले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै क्रीतिमानी २७७ रन जोड्यो ।
योसंगै ११ वर्ष अगाडी रोयल च्यालेन्जर्स बेङगलुरुले बनाएको २६३ रनको क्रीतिमानलाई सनराइजर्स हैदराबादले तोड्दै नयाँ क्रीतिमानी स्कोर बनायो ।
त्यसअघि सन् २०१३ मा भएको आईपिएल खेलमा रोयल च्यालेन्जर्स बेङगलुरुले पुने वारियर्समाथि २६३ रन जोडेको थियो ।
हैदराबादका लागि क्रीतिमानी रन जोड्न विकेटकिपर हेनरिक क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै ८० रनको विष्पोटक पारी खेल्दै अविजित रहे ।
जारी आईपिएलमा क्लासेनको यो लगातार दोस्रो अर्धशतकिय पारी हो ।
यसअघि कोलकता नाइट राइडर्सविरुद्वको पहिलो खेलमा पनि क्लासेनले ६३ रनको अर्धशतकिय पारी खेलेका थिए ।
त्यस्तै, अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गर्दै ६३ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान ट्राभिस हेडले २४ बल खेल्नेक्रममा ९ चौका र ३ छक्का प्रहार गर्दै ६२ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।
यता, अैदेन मार्करामले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडेर अविजित रहँदा अर्का ओपनर मयङ्क अग्रवालले १३ बल खेल्दै १ चौका प्रहार गर्दै ११ रन जोडेर पेविलियन फर्किए ।
हैदराबादले अतिरिक्त रुपमा १९ रन जोड्यो ।
मुम्बईका लागि हार्दिक पाण्डेया, गेराल्ड कोएट्जे र पियुष चावलाले समान १–१ विकेट लिए ।
प्रतियोगिताअन्तर्गत विहिवार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुनेछ ।