भक्तपुर । नेपालले हङकङ क्रिकेट सिक्सेसमा अष्ट्रेलियामाथि शानदार जित हासिल गरेको छ ।
सनिवार विहान भएको खेलमा नेपाल बलियो अष्ट्रेलियामाथि ११ रनको शानदार जित हासिल गरेको हो ।
योसंगै समूह ‘बी’ बाट नेपालले २ खेलमा शतप्रतिशत जित निकाल्दै ४ अंक जोडेर समूह विजेता बनेको छ ।
पराजित अष्ट्रेलियाले समान २ खेलबाट १ मा जित र १ मा हारको नतिजासहित २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रह्यो ।
सोहि समूहमा रहेको इंग्ल्याण्ड भने समूह चरणको दुबै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
हङकङको मङकङस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा ११२ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको अष्ट्रेलियाले ६ ओभरको खेलमा ५ विकेट गुमाएर मात्र १०० रन जोड्न सक्यो ।
पुर्व विजेता अष्ट्रेलियाका लागि ज्याक उडले १६ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दा एलेक्स रोसले ४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १४ रन जोडेर पेविलियन फर्किए ।
यता, ड्यान क्रिस्टियन ९, फावाड अहमेद ८, एन्ड्रियु फेकेट ५ र कप्तान स्याम हेजलेट १ रनमा पेविलयिन फर्किए ।
अष्ट्रेलियाले अतिरिक्त रुपमा ८ रन जोड्यो ।
अष्ट्रेलियालाई हराउन नेपालका लागि प्रतिश जिसीले २ ओभर बलिङ गरेर २४ रन दिँदै ३ विकेट लिँदा लोकेश बम र विवेक यादवले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ६ ओभरको खेलमा २ विकेट गुमाउँदै १११ रन जोड्यो ।
नेपालका लागि कप्तान तथा विकेटकिपर सुन्दिप जोराले १६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेल्दा लोकेश बमले १३ बल खेल्नेक्रममा ३ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, विवेक यादवले ४ बलमा २ छक्का प्रहार गर्दै १२ रन जोडेर आउट हुँदा राशिद खानले २ बलको सामना गर्दा २ छक्का नै प्रहार गर्दै १२ रन जोडेर अविजित रहे ।
यता, नारायण जोशी भने १ रनमा अविजित रहे ।
नेपालले अतिरिक्त रुपमा २ रन जोड्यो ।
अष्ट्रेलियाका लागि ज्याक उडले २ ओभर बलिङ गरेर ३७ रन खर्चिदै २ विकेट लिए ।