
भक्तपुर । हङकङमा जारी हङकङ टि–२० आई सिरिज फ्रेन्डसिप कपअन्तर्गत तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई पराजित गरेको छ ।
मंगलवार विहान भएको खेलमा नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको हो ।
योसंगै नेपालले फ्रेन्डसिप कपको फाइनल यात्रा तय गर्ने सम्भावना कायमै राखेको छ ।
नेपालले मैत्रीपूर्ण सिरिजमा ३ खेलमा ३ अंक जोडेको छ ।
हङकङको टिन कोङ रोड रिक्रिएसन ग्राउन्डमा भएको खेलमा १९९ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको पिएनजी १५.५ ओभरमा अलआउट हुँदा मात्र ११२ रनमा समेतियो ।
पिएनजीका लागि हिरी हिरीले १९ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोड्दै आउट हुँदा ओपनर ब्याटर सेसे बाउले १३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर रनआउट भए ।
त्यस्तै, अर्का ओपनर ब्याट्सम्यान टोनी उराले ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा नोसैना पोकानाले १० बलमा १ छक्का प्रहार गर्दै १२ रन जोडेर पेविलियन फर्किए ।
यता, कप्तान अस्सद भाला र चार्लिस अमिनी समान ९–९, विकेटकिपर किप्लिन दोरिगा ८, लेगा सियाका ५, जोन कारिको २ र नोर्मन भानुआ शुन्य रनमा पेविलियन फर्किए ।
ज्याक गार्डनेर शुन्य रनमा अविजित रहे ।
पिएनजीले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
पिएनजीलाई अलआउट गर्दै सहज जित निकाल्न नेपालका लागि कुशल भुर्तेलले ४ ओभर बलिङ गर्दै मात्र १२ रन दिएर ह्याट्रिकसहित सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै, प्रतिश जिसीले ४ ओभर बलिण् गर्नेक्रममा ४० रन दिएर २ विकेट लिँदा आकाश चन्द र गुलशन झाले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १९८ रन जोड्यो ।
नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ५९ रनको अर्धशतकिय पारी खेल्दा सुन्दिप जोराले २६ बल खेल्नेक्रममा ३ चौका र ४ छक्का प्रहार गर्दै ५६ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।
त्यस्तै, विकेटकिपर विनोद भण्डारीले २२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २७ रन जोडेर आउट हुँदा विवेक यादवले ४ बलमा ३ चौका प्रहार गर्दै १९ रन जोडेर अविजित रहे ।
यता, गुलशन झाले १२ बलमा १ छक्का प्रहार गर्दै १५ रन जोडेर अविजित रहँदा लोकेश बमले ६ बल खेल्दै २ छक्का प्रहार गरेर १४ रनमा खेल्दै गर्दा रनआउट भए ।
कप्तान रोहित पौडेल १ र आरिफ शेख ४ रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा ३ रन जोड्यो ।
पिएनजीका लागि कप्तान अस्सद भालाले ३ ओभर बलिङ गर्नेक्रममा १८ रन दिएर २ विकेट लिँदा नोसैना पोकाना, जोन कारिको र नोर्मन भानुआले समान १–१ विकेट लिए ।