भक्तपुर । हङकङ चाइनाले हङकङ टि–२० आई सिरिज फ्रेन्डसिप कपअन्तर्गत खेलमा नेपालसमक्ष जितका लागि २१३ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
हङकङको टिन कोङ रोड रिक्रिएसन ग्राउन्डमा जारी खेलमा टस हार्दै पहिला ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै २१२ रन जोड्दै नेपाल समक्ष जितका लागि २१३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
हङकङका लागि बाबर हायाटले ४९ बलमा ३ चौका र १३ छक्का प्रहार गर्दै सर्वाधिक ११० रनको शतकिय पारी खेल्दा अनशुमन रथले ३२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान मार्टिन कोएटजीले २१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३१ रन जोडेर आउट हुँदा अजिज खानले ११ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरेर २१ रन जोडेदै अविजित रहे ।
यता, कप्तान निजाकत खान, विकेटकिपर जमी अत्किन्सन र यासिम मुर्टाजा भने शुन्य रनमा पेविलियन फर्किए ।
घरेलु टोलीले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
नेपालका लागि आकाश चन्दले ३ ओभर बलिङ गर्नेक्रममा २७ रन दिएर ३ विकेट लिँदा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले समान १–१ विकेट लिए ।