
एजेन्सी । अमेरिकी लिग मेजर लिग सकर (एमएलएस) अन्तर्गत खेलमा स्पोर्टिङ केसीमाथि जित निकाल्दै इन्टर मियामी शीर्ष स्थानमा उक्लेको छ ।
आईतवार विहान भएको एमएलएस खेलमा स्पोर्टिङ केसीमाथि ३–२ को जित निकाल्दै इन्टर मियामी लिग तालिकाको शीर्ष स्थानमा उक्लेको हो ।
स्पोर्टिङको घरेलु मैदान आरोहेड स्टेडियममा भएको खेलमा मियामीको जितमा कप्तान लियोनल मेसी, लुइस सुवारेज र डिएगो गोमेजले गोल गरे ।
घरेलु टोलीका लागि भने इरिक थोमीले दुई गोल गरे ।
खेल सुरु भएको छैटौं मिनेटमा टिम लैबोल्डको पासमा थोमीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, १८ औं मिनेटमा मेसीको पासमा गोमेजले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, दोस्रो हाफको ५१ औं मिनेटमा डेभिड रुइजको पासमा मेसीले गोल गर्दा मियामी २–१ ले अघि बढ्यो ।
त्यसको सात मिनेटपछि नै थोमीले स्पोर्टिङका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
त्यसपछि ७१ औं मिनेटमा गोमेजको पासमा सुवारेजले गोल गर्दा मियामी ३–२ ले विजयी भयो ।
महत्वपूर्ण जितसंगै ग्रुप इस्टको शीर्ष स्थानमा उक्लिएको मियामीले ९ खेलबाट १५ अंक जोडेको छ ।
मियामीको भन्दा एक खेल कम खेलेको न्युयोर्क आरबीको पनि समान १५ नै अंक रहेतापनि मियामी गोलअन्तरका आधारमा शीर्ष स्थानमा उक्लेको हो ।
यता, पराजित स्पोर्टिङ केसीको ८ खेलबाट १० अंक रहेको छ ।
स्पोर्टिङ ग्रुप वेस्टको आठौं स्थानमा रहेको छ ।