
भक्तपुर । स्पेनीस फुटबल क्लब काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ ।
बिहीवार लुम्बिनी गार्डेन फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो ।
काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लब हो ।
स्पेनीस क्लबले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रङ्गशालामा गण्डकी ११ सँग पहिलो मैत्रीपूर्ण फुटबल खेल्नेछ ।
त्यस्तै, पुस १४ गते काठमाण्डौको दशरथ रङ्गशालामा काठमाण्डौ ११ सँग प्रतिस्पर्धा गर्नेछ ।
गण्डकी ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी अनिल गुरुङले गर्नेछन् भने गण्डकीको प्रशिक्षकमा राजेन्द्र तामाङ रहेका छन् ।
यता, मेघराज केसीको प्रशिक्षणमा काठमाडौं ११ ले पूर्व राष्ट्रिय कप्तान विराज महर्जनको कप्तानीमा खेल्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा), कास्की जिल्ला फुटबल संघको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नारासहित मैत्रीपूर्ण फुटबल आयोजना हुन लागेको हो ।