भक्तपुर । स्पेनिस क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा काठमाडौं ११ लाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा कासेरेन्योले काठमाडौं ११ लाई २–१ ले हराएको हो ।
कासेरेन्योको जितमा अल्भारो क्लाउस र डेभिड ग्रान्डेले गोल गरे । विराज महर्जनको कप्तानीमा रहेको काठमाडौं ११ का लागि जर्ज प्रिन्स कार्कीले एक गोल फर्काए ।
खेलको ४१ औं मिनेटमा अल्भारोले गोल गर्दै कासेरेन्यो सिपीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० ले अघि रहेको भ्रमणकारी टोलीका लागि खेलको ८२ औं मिनेटमा डेभिडले गोल गर्दै २–० ले अघि बढे ।
यता ८६ औं मिनेटमा काठमाडौं ११ का जर्ज प्रिन्सले गोल गरेपनि पाहुना टोली २–१ ले विजयी भयो ।
यसअघि हिजो (बुधवार) कासेरेन्योले पोखरा रंगशालामा गण्डकी ११ लाई ३–० ले पराजित गरेको थियो ।