
एजेन्सी । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिग वान उबेर इट्सअन्तर्गत खेलमा स्ट्रासबोर्गमाथि जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा साविक विजेता समेत रहेको पिएसजीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी स्ट्रासबोर्गमाथि २–१ को जित हासिल गरेको हो ।
स्ट्रासबोर्गको घरेलु मैदान स्टेड डि ला मैनौ रंगशालामा भएको खेलमा लिग लिडर टोलीको जितमा केलियन एम्बाप्पे र मार्को एसेन्सियोले गोल गरे ।
घरेलु टोलीका लागि डिलान बाक्वाले एक गोल फर्काए ।
खेलको ३१ औं मिनेटमा एसेन्सियोको पासमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसअघि खेल सुरु भएको छैटौं मिनेटमा एम्बाप्पे पेनाल्टीमा चुकेको थिए ।
यता, दोस्रो हाफको ४९ औं मिनेटमा एम्बाप्पेको असिस्टमा एसेन्सियोले गोल थप्दा पिएसजी २–० ले अघि बढ्यो ।
तर, ६८ औं मिनेटमा एन्जेलोको पासमा बाक्वाले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल २–१ को अवस्थामा आयो ।
त्यसपछि थप गोल निस्किएन र खेल पिएसजीले जित्यो ।
जितसंगै पिएसजीले २० खेलमा ४७ अंक जोड्दै तालिक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।
पराजित स्ट्रासबोर्गको भने समान खेलमा २५ अंकसहित तालिकाको १० औं स्थानमा रहेको छ ।