भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक २ विकेटको जित हात पारेको छ ।
मंगलवार भएको सिरिजअन्तर्गत चौथौं तथा अन्तिम खेलमा नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै २१३ रन जोड्दै रोमाञ्चक जित हात पारेको हो ।
एक समय हारतर्फ उन्मूख नेपाली टोलीलाई कप्तान रोहित पौडेल र करण केसीले ७३ रनको साझेदारी गर्दै रोमाञ्चक जित दिलायो ।
योसंगै नेपालले सिरिजमा ४ खेल खेल्दा शतप्रतिशत जित हात पारेको हो । यसअघि स्कटल्याण्डले नेपाललाई २१३ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।
क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहँदै १०१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ९५ रन जोडे ।
त्यस्तै, करण केसीले पनि अविजित रहँदै ३७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३१ रन बनाए ।
ज्ञानेन्द्र मल्ल ३० बलमा ४ चौका मद्दतमा २१ रन जोड्दै पेविलियन फर्किदा कुशल मल्लले २८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १७ रन बनाउँदै आउट भए ।
विकेटकिपर समेत रहेका आसिफ शेख २३ बल खेल्दै १ चौका मद्दतमा १२ रनमा आउट हुँदा घरेलु टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्पिनर सन्दिप लामिछाने ९, दिपेन्द्र सिंह ऐरी ७, सोमपाल कामी २ तथा सुन्दिप जोरा र कुशल भुर्तेल समान १ रनमा आउट भए ।
स्कटल्याण्डका लागि मार्क वाटले १० ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ मेडन राख्दै ३ विकेट लिए । त्यस्तै, क्रिस ग्रेभ्सले१० ओभरमा १ ६१ रन दिँदै १ मेडन राख्दै २ विकेट लिए । यता, ब्रान्डन मिकम्यालन र माइकल लिक्सले १–१ विकेट लिए ।
त्यसअघि टस हार्दै ब्याटिङमा पहिला उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ४६.१ ओभरमा अल आउट हुँदै २१२ रन बनाएको थियो ।
स्कटल्याण्डका लागि जर्ज मोन्सेले ५० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६० रनको अर्धशतकिय रन जोडे ।
त्यस्तै, विकेटकिपर म्याथ्यु क्रसले ६३ बल खेल्नेक्रममा ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीमार्फत रन आउट भए ।
ब्रान्डन मिकम्यालन ४८ बलमा ३ चौका मद्दतमा ३१ रन बनाउँदै आउट भए । कायल कोटजर २३ बलमा ४ चौका मद्दतमा २२ रन जोड्दै पेविलियन फर्कदा क्रिस्टोफर म्याकब्राइदले पनि ३० बलको सामना गर्दै १ चौका प्रहार गर्दै २२ रनमा आउट भए ।
क्रिस ग्रिम्स ७, म्याट वाट ८ रनमा आउट हुँदा कप्तान रिची बेरिङटन र माइकल लिस्क शुन्य रनमा पेविलियन फर्किए ।
सफयन शरिफ ८ रनमा अविजित रहे । भ्रमणकारी टोलीले ११ रन अतिरिक्त रुपमा पाएको छ ।
नेपालका लागि सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै ४५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । त्यस्तै, करन केसीले ८.१ ओभर बलिङ गर्दै ४२ रन खर्चिएर ३ विकेट लिए ।
ललित राजबंशीले १० ओभरमा ३३ रन दिएर १ विकेट लिँदा कुशल मल्लले पनि ६ ओभर बलिङ गर्दा ३० रन खर्चिएर १ विकेट लिए ।