भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्याण्डविरुद्वको खेल नेपालले जितेको छ ।

शुक्रवार भएको खेलमा नेपालले बलियो स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो ।

२७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ११६ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ८५ रन जोडे । ऐरी अविजित रहे ।

त्यस्तै, कुशल मल्लले ६७ बलमा ९ चौका र ४ छक्का मद्दतमा ८१ रन जोड्दा सोमपाल कामीले ३२ बल खेल्दै ३ चौका प्रहार गर्दै नटआउट २४ रन जोडे ।

गुलशन झाले २८ बलमा १७, कुशल भुर्तेलले ८ बलमा १६, विकेटकिपर आसिफ शेखले १४ बलमा९, कप्तान रोहित पौडेलले ६, सुन्दिप जोरा ५ तथा ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए । घरेलु टोलीले अतिरिक्त रुपमा २८ रन पाएको थियो ।

भ्रमणकारी टोलीका लागि क्रिस सोल र मार्क वाटले समान ३–३ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २७४ रन बनायो ।

स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै अविजित १०७ रनको शतकिय इनिङ्स खेले ।

ज्याक जार्भिसले ३८ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा २६ रन जोड्दा क्रिस्टोफर म्याक ब्राइडले २९ बलमा ३ चौका प्रहार गर्दै २२ रन जोड्दै पेबिलियन फर्किए ।

त्यस्तै, ब्रान्डन म्याकमुलेन २६ बलको सामना गर्दा १ छक्का प्रहार गर्दै २२ रन बनाउँदा मार्क वाटले ३१ बल खेल्दै १ चौका मद्दतमा २० रन बनाउँदै आउट भए ।

क्रिरिचिइ ब्यारेङटनले २५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोड्दा विकेटकिपर टोमस स्कट सबटार म्याकिन्टोसले १९ बल खेल्दै २ चौकाको मद्दतमा १९ रन बनाउँदै आउट भए ।

क्रिस ग्रेभासले २२ बलमा १ चौकामा १६ रन बनाउँदै आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । भ्रमणकारी टोलीले १६ रन अतिरिक्त रुपमा पाएको थियो ।

नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट हात पार्दा कुशल मल्लले २ विकेट लिए । त्यस्तै, सोमपाल कामी, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरी १–१ विकेट लिए ।

नेपालले ठूलो लक्ष्य पछ्याएर जितेको यो दोस्रो खेल हो । स्कटल्याण्डविरुद्व प्राप्त जितसंगै जारी सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । यसअघि नेपालले नामिबियालाई पराजित गरेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.