भक्तपुर । काठमाडौंमा जारी आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपाललाई स्कटल्याण्डद्वारा २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्रितिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्ड ४६.१ ओभरमा अलआउट हुँदै २१२ रन बनाएको हो ।
स्कटल्याण्डका लागि जर्ज मोन्सेले ५० बलमा ९ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६० रनको अर्धशतकिय रन जोडे ।
त्यस्तै, विकेटकिपर म्याथ्यु क्रसले ६३ बल खेल्नेक्रममा ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीमार्फत रन आउट भए ।
ब्रान्डन मिकम्यालन ४८ बलमा ३ चौका मद्दतमा ३१ रन बनाउँदै आउट भए ।
कायल कोटजर २३ बलमा ४ चौका मद्दतमा २२ रन जोड्दै पेविलियन फर्कदा क्रिस्टोफर म्याकब्राइदले पनि ३० बलको सामना गर्दै १ चौका प्रहार गर्दै २२ रनमा आउट भए ।
क्रिस ग्रिम्स ७, म्याट वाट ८ रनमा आउट हुँदा कप्तान रिची बेरिङटन र माइकल लिस्क शुन्य रनमा पेविलियन फर्किए ।
सफयन शरिफ ८ रनमा अविजित रहे । भ्रमणकारी टोलीले ११ रन अतिरिक्त रुपमा पाएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै ४५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै, करन केसीले ८.१ ओभर बलिङ गर्दै ४२ रन खर्चिएर ३ विकृट लिए । ललित राजबंशीले १० ओभरमा ३३ रन दिएर १ विकेट लिँदा कुशल मल्लले पनि ६ ओभर बलिङ गर्दा ३० रन खर्चिएर १ विकेट लिए ।
जारी सिरिजमा नेपालले यसअघि खेलेको ३ वटै खेलमा जित हात पारेको थियो ।