भक्तपुर । कतारमा जारी फिफा विश्वकपको सेमिफाइन मंगलवारबाट सुरु हुँदैछ ।
आज नेपाली समयअनुसार मध्यराति पौने १ बजे लुसाइल आइकोनिक रंगशालामा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ ।
जारी विश्वकपको मूख्य दाबेदारको रुपमा रहेको अर्जेन्टिनाले यसअघि क्रोएसियासंग दुईपल्ट विश्वकपमा खेलेको छ ।
सन् १९९८ मा अर्जेन्टिना १–० ले विजयी रहँदा यसअघिको संस्करणको रसिया विश्वकपमा भने ३–० ले पराजित भएको थियो ।
आजको खेलमा चारवर्ष अघिको हारको बदला लिने अवसर लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनालाई हुनेछ ।
सम्भवत लियोनल मेसीको अन्तिम विश्वकपको रुपमा लिइएको यस संस्करणको विश्वकप दक्षिण अमेरिकी राष्ट्रले जसरी भएपनि जित्न चाहन्छ ।
यदि आज युरोपेली राष्ट्र क्रोएसियालाई पाखा लगाउन सके अर्जेन्टिना उपाधि नजिक त पुग्नेछ नै साथसाथै विश्वकपमा छैटौं पटक फाइनल पुग्ने राष्ट्र समेत बन्नेछ ।
यसअघि विश्व फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगितामा अर्जेन्टिना ५ पटक फाइनल पुगेको छ । जसमा उसले २ पटक विश्वकपको उपाधि जितेको छ ।
अन्तिमपटक उसले सन् २०१४ को विश्वकपको उपाधि भिडन्त खेलेको थियो । जसमा अर्जेन्टिना जर्मनीको हातबाट १–० ले पराजित भएको थियो ।
यता, गत संस्करणको उपविजेता राष्ट्र क्रोएसिया पनि बलियो अर्जेन्टिनालाई स्तब्ध पार्ने ध्यानमा हुनेछ ।
क्वाटरफाइनमा उपाधि दाबेदार राष्ट्र ब्राजिललाई ट्राइब्रेकरमा पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गरेको लुका मोड्रिचको राष्ट्र उच्च मनाबलका साथ आज मैदान उत्रिने तयारीमा छ ।
क्रोएसियाले अहिलेसम्म विश्व फुटबलको सर्वोच्च उपाधि उचाल्न सकेको छैन । रसिया विश्वकपमा उपविजेता बन्नु नै यो युरोपेली राष्ट्रका लागि ठूलो उपलब्धि हो ।
जारी विश्वकपमा उपाधि होडमा नगनिएको यस राष्ट्रले अप्रत्यासित नतिजा निकालिरहेको छ ।
पछिल्लो फिफा वरियतामा १२ औं स्थानमा रहेको क्रोएसियाले तेस्रो वरियतामा रहेको अर्जेन्टिनासंग डटेर मुकाबिला गर्नेमा कुनै शंका छैन ।
स्टार खेलाडीहरुले भरिभराउ अर्जेन्टिना र बलियो राष्ट्रलाई स्तब्ध पार्न सक्ने खुबी भएको क्रोएसियाको आजको खेल धेरै अर्थमा रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ ।