
एजेन्सी । सेफिल्ड युनाइटेडलाई हराउँदै लिभरपूल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
विहिवार राति भएको खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी सेफिल्ड युनाइटेडलाई ३–१ हराउँदै लिभरपूल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
मर्सिसाइड क्लबको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा डार्विन नुनेज, एलेक्सिस म्याक अलिस्टार र कोडी गाक्पोले गोल गरे ।
भ्रमणकारी टोलीका लागि भने लिभरपूलका कोनर ब्राड्लेले आत्मघाती एक गोल उपहार दिए ।
खेल सुरु भएको १७ औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपूललाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ५८ औं मिनेटमा घरेलु टोलीका ब्राड्लेले आत्मघाती गोल गर्न पुग्दा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ७६ औं मिनेटमा लुइस डाइजको असिस्टमा म्याक अलिस्टारले गोल गर्दा मर्सिसाइड क्लब २–१ ले अघि बढ्यो ।
यता, खेलको अन्त्यतिर एन्ड्रेयु रोबर्टसनको पासाम गाक्पोले गोल थप्दा रेड्सका रुपमा समेत चिनेने लिभरपूल ३–१ ले विजयी भयो ।
सहज जितसंगै लिभरपूलले ३० खेलबाट ७० अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
पराजित सेफिल्डको समान ३० खेलमा १५ अंकसहित तालिकाको २० औं स्थानमा रहेको छ ।