
भक्तपुर । कतारमा जारी फिफा विश्वकपको समूह ‘ए’ को अन्तिम चरणको खेलमा इक्वेडरमाथि रोमाञ्चक जित हात सेनेगल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ ।
मंगलवार खालिफा रंगशालामा दक्षिण अमेरिकी राष्ट्र इक्वेडरमाथि अफ्रिकी राष्ट्र सेनेगलले २–१ को जित हात पार्दै विश्वकपको दोस्रो चरण प्रवेश गरेको हो ।
सेनेगलको जितमा इस्माइला सार र कालिडउ काउलिबेलीले गोल गर्दा मोइसिस काइसेडोले एक गोल फर्काए । सारले खेलको ४४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अफ्रिकी राष्ट्रलाई सुरुवाती अग्रता दिएका थिए ।
तर दोस्रो हाफको ६७ औं मिनेटमा काइसेडोको गोलमार्फत इक्वेडर खेलमा फर्कियो ।
१–१ को बराबरी धेरैबर भने टिकेन । ७० औं मिनेटमा काउलिवालीले गोल गरेसंगै सेनेगलले नतिजा २–१ ले आफ्नो पक्षमा पार्यो ।
जितसंगै सेनेगलले तीन खेलमा ६ अंक जोड्दै समूह ‘ए’ को उपविजेता रह्यो ।
उता पराजित इक्वेडरको ४ अंक रहेको छ । समूह ‘ए’ मा तेस्रो हुँदै दक्षिण अमेरिकी राष्ट्र समूह चरणबाटै बाहिरियो ।