
भक्तपुर । सनेगललाई पराजित गरेसंगै इंग्ल्याण्ड कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ ।
आइतवार राति भएको खेलमा अफ्रिकी राष्ट्र सनेगलमाथि ३–० को सहज जित हात पार्दै इंग्ल्याण्ड अन्तिम आठमा प्रवेश गरेको हो ।
अल ब्याट रंगशालामा थ्री लायन्सलाई जित दिलाउन कप्तान ह्यारी केनसहित जोर्डन हेन्डरसन र बुकायो साकाले गोल गरे ।
खेलको सुरुवाती समय सुस्त देखिएता पनि ३८ औं मिनेटमा हेन्डरसनले इंग्लिस टोलीका लागि १–० को अग्रता दिलाए । उक्त गोलका लागि जुडे बलिङघमले पास उपलब्ध गरेका थिए ।
त्यस्तै, पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा इंग्ल्याण्डले दोस्रो गोल थप्यो । इंग्लिस टोलीका लागि कप्तान ह्यारी केनले काउन्टर अट्याकमा सुन्दर गोल गरेका थिए ।
पहिलो हाफमा २–० को आरामदायी अवस्थामा पुगेको इंग्ल्याण्डले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ५७ औं मिनेटमा फिल फोडिनको पासमा बुकायो साकाले गोल गर्दा इंग्ल्याण्ड ३–० ले विजयी रह्यो ।
अब क्वाटरफाइनलमा इंग्ल्याण्डको भेट साविक विजेता फ्रान्ससंग हुनेछ ।