एजेन्सी । वेस्ट इन्डिजमा जारी आईसीसी टि–२० विश्वकपको सुपर ८ अन्तर्गत खेलमा भारतले बंगलादेशमाथि सहज जित हासिल गरेको छ ।
सनिवार राति भएको खेलमा उपाधि दाबेदार भारतले बंगलादेशमाथि ५० रनको सहज जित हासिल गरेको हो ।
योसंगै सुपर ८ को ग्रुप १ मा भारतले २ खेल खेल्दा शतप्रतिशत जितका साथ ४ अंक जोड्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
पराजित बंगलादेशले भने समान २ खेल खेलिसक्दा दुबैमा हार बेहोरेको छ ।
अन्टीगुवा एन्ड बरबुडास्थित सर भिभियान रिचार्ड्स स्टेडियममा भएको खेलमा १९७ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै मात्र १४६ रनमा समेतियो ।
बंगलादेशका लागि कप्तान नाजमुल हुसेन शान्तोले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४० रन जोड्दा ओपनर ब्याट्सम्यान तान्जिद हसनले ३१ बल खेल्दै ४ चौका मद्दतमा २९ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, रिशाद हुसेनले १० बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २४ रन जोडेर आउट हुँदा महमुदुल्लाले १५ बलको सामना गर्दा १ चौका प्रहार गर्दै १३ रन जोडेर पेविलियन फर्किए ।
यता, अर्का ओपनर तथा विकेटकिपर लिटन दासले १० बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा तौहिद हृदय ४ र जाकेर अली १ रनमा पेविलियन फर्किए ।
माहदी हसन ५ र तान्जिम हसन सकिब १ रनमा अविजित रहे ।
बंगलादेशले अतिरिक्त रुपमा ५ रन जोड्यो ।
बंगलादेशमाथि जित हासिल गर्न भारतका लागि कुलदिप यादवले ३ विकेट लिँदा जसप्रित बुमराह र अर्शदिप पटेलले समान २–२ र हार्दिक पाण्डेयाले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १९६ रन जोड्यो ।
भारतका लागि हार्दिक पाण्डेयाले २७ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५० रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान विराट कोहोलीले २८ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरेर ३७ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, विकेटकिपर रिशभ पन्तले २४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३६ रन जोडेर आउट हुँदा अर्का ओपनर तथा कप्तान रोहित शर्माले ११ बल खेल्नेक्रममा ३ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडेर पेविलियन फर्किए ।
यता, सुर्यकुमार यादव ६ रनमा पेविलियन फर्किदा अक्षर पटेल ३ रनमा अविजित रहे ।
भारतले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
बंगलादेशका लागि रिशाद हुसेन र तान्जिम हसन सकिबले समान २–२ विकेट लिँदा सकिब अल हसनले १ विकेट लिए ।