
भक्तपुर । दक्षिण अफ्रिकामा जारी आईसीसी यु–१९ क्रिकेट विश्वकपअन्तर्गत सुपर सिक्सको खेलमा नेपालले बंगलादेशसमक्ष १७० सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
ब्लोइमफन्टेनस्थित मनगौङ ओभल रंगशालामा जारी खेलमा नेपालले पहिलो इनिङ्समा ब्याटिङ गर्दै बंगलादेशसमक्ष जितका लागि १७० रनको सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १६९ रन जोड्यो ।
नेपालका लागि बिशाल विक्रम केसीले १०० बल खेल्दै ६ चौका प्रहार गरेर सर्वाधिक ४८ रन जोड्दा कप्तान देब खनालले ६० बल खेल्नेक्रममा ३ चौका प्रहार गरेर ३५ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, सुवास भण्डारीले ३४ बल खेल्नेक्रममा १८ रन जोड्दै अविजित रहँदा अर्जुन कुमालले २६ बल खेल्दै २ चौका प्रहार गरेर १४ रन जोड्दै पेविलियन फर्किए ।
यता, आकाश त्रिपाठी, गुलशन झा, दिपक बोहरा र दिपेश कँडेल समान ३–३ रन जोड्दै आउट हुँदा विकेटकिपर बिपिन राबल २ रनमा पेविलियन फर्किए ।
दुर्गेश गुप्ताले भने ९ रन जोेड्दै आउट हुँदा आकाश चन्द शुन्य रनमा पेविलियन फर्किए ।
नेपालले अतिरिक्त रुपमा ३१ रन जोड्यो ।
नेपाललाई अलआउट गर्न बंगलादेशका लागि रोहनाट दौल्लाह बोर्सनले ८.५ ओभर बलिङ गर्दै २ मेडन राख्नेक्रममा १९ रन दिएर सर्वाधिक ४ विकेट लिँदा परभेज रहमान जीवनले १० ओभर बलिङ गर्दै २ मेडनसहित ३४ रन खर्चिएर ३ विकेट लिए ।
त्यस्तै, एमडी इक्बाल हसन इमोन, मारुफ मृधा र जिशान आलामले समान १–१ विकेट लिए ।