
एजेन्सी । स्पेनिस फुटबल प्रतियोगिता सुपरकोपा दि इस्पानाको उपाधिका लागि चिरपरिचित प्रतिद्वन्दीद्वय रियल मड्रिड र बार्सिलोना फेरी एकपल्ट आमनेसामने हुने भएका छन् ।
बिहिवार राति सेमिफाइनल समिकरण पूरा भएसंगै स्पेनिस सुपर कपको रुपमा समेत चिनिने सुपरकोपा दि इस्पानाको उपाधिका लागि स्पेनिस कट्टर प्रतिद्वन्दीद्वय रियल मड्रिड र बार्सिलोना आमनेसामने हुने भएका हुन् ।
विहिवार राति साविक विजेता बार्सिलोनाले ला लिगा प्रतिद्वन्दी ओसासुनालाई २–० ले पराजित गर्दै फाइनलमा रियल मड्रिडसंगको भेट पक्का गरे ।
त्यसअघि बुधवार राति साविक उपविजेता समेत रहेको रियल मड्रिडले एट्लेटिको डि मड्रिडमाथि प्रतिस्र्धात्मक ५–३ को जित रच्दै फाइनल यात्रा तय गरेको थियो ।
रोयल स्पेनिस फुटबल फेडेरेसनको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनल खेल आउने आईतवार राति पौने १ बजे साउदी अरबियाको अल अवाल एट किंग साउद युनिभर्सिटी रंगशालामा हुनेछ ।
एल क्लासिकोका रुपमा समेत चिनिने यी दुई प्रतिद्वन्दीबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
क्याटलान क्लब फेरी एकपटक मड्रिडलाई स्तब्ध पार्दै उपाधि घरमै राख्न चाहन्छ ।
उसो त गएको संस्करणमा बार्सिलोनाले मड्रिडमाथि ३–१ को जित निकाल्दै क्रीतिमानी १४ औं पटक सुपरकोपाको उपाधि उचालेको थियो ।
यता, १२ पटक सुपरकोपाको उपाधि उचालिसकेको मड्रिडले गएको सिजनमा बेहोरेको हारको बदला लिँदै १३ औं पटक उपाधि उचाल्ने तयारीमा रहेको छ ।