भक्तपुर । सुदूरपश्चिम प्रदेशले १९ वर्षमूनीको वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनल खेलमा साविक विजेता लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित हात पार्दै सुदुरपश्चिमले उपाधि जितेको हो ।
सोमबार काठमाडौंस्थित टियू क्रिकेट मैदानमा लुम्बिनीले दिएको ९३ रनको सामान्य लक्ष्य सुदूरले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमका लागि गजेन्द्र बोहोराले अविजित रहँदै ३९ रन बनाए । त्यस्तै, दिपक बोहोराले २५ रन बनाउँदा अनुराग सिंह २२ रन जोडे । मिलन बोहराले ६ रन जोडेर पेविलियान फर्कदा अर्का दिपक बोहोरा शून्य रनमा आउट भए ।
लुम्बिनीका लागि रमेश कुर्मीले दुई विकेट लिँदा निर्मल गुरुङ र अभिषेक गौतमले १–१ विकेट विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २९.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९२ रन बनाउन सक्यो ।
लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै, नर सार्कीले ११ रन जोडे । लुम्बिनीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदुरपश्चिमका लागि मिलन बोहोराले सर्वाधिक ५ विकेट लिए । हेमन्त धामी र नरेन साउदले समान २–२ विकेट आफ्नो पारे ।
जितसंगै सुदुरपश्चिमले गत संस्करणको उपाधि भिडन्तमा हारेको बदलासमेत लियो । हुन त यसै संस्करणमा समूह चरणको खेलमा लुम्बिनीलाई सुदुपश्चिमले १ सय रनले पराजित गरेको थियो ।
सुदुरपश्चिमले उपाधिसँगै २ लाख रुपैया नगद राशी पनि जितेको छ । यता, उपविजेतामा सिमित लुम्बिनीले पनि १ लाख नगद राशी जितेको छ ।