भक्तपुर । मकवानपुरको सिस्नेरी घटनामा ज्यान गुमाएका खेलाडीहरुको न्यायको लागि उच्च स्तरिय संसदीय छानबिन समिति गठनको माग गर्दै आज (सोमवार) भक्तपुरबाट मेची–महाकाली हस्ताक्षर अभियान सुभारम्भ गरिएको छ ।
अखिल नेपाल फुटबलसंघ (एन्फा) को कमजोरीका कारण उक्त घटना घटेको भन्दै हाम्रो अभियान नेपाली फुटबलमा आमुल परिवर्तनले देश व्यापी हस्ताक्षर संकलन अभियान सुरु गरेको हो ।
गत असोज १२ गते मकवानपुर जिल्ला इन्द्रसरोव गाउँपालिकामा गएको पहिरोका कारण वडा नम्बर ३ स्थित वात्सल्यदेवी स्कुलमा रहेको एन्फा सिस्नेरी एकेडेमीमा रहेका ६ किशोर खेलाडीको ज्यान गएको थियो ।
उक्त घटनामा एकेडेमीमा रहेका किशोर खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानियाँ, अनुपम घलान र साइमल योन्जनको निधन भएको थियो ।
घटनाको सत्यतथ्य छानबिनको लागि संसदिय समिति गठनको माग राखि भक्तपुरका विभिन्न स्थानमा संकलन गरिएको हस्ताक्षर संकलन गरिएको अभियानकर्ताले जानकारी दिए ।
देशैभरी संकलन हुने हस्ताक्षर जिल्ला प्रशासन कार्यालय तथा प्रतिनिधि सभाका सभामुखको कार्यलयमा बुझाइने बताइएको छ ।