
एजेन्सी । नापोलीले इटालियन सिरी एमा इम्पोलीमाथि स्पष्ट जित निकालेको छ ।
सोमवार राति भएको खेलमा नापोलीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी इम्पोलीमाथि ३–० को स्पष्ट जित निकालेको हो ।
नापोलीको घरेलु मैदान डिएगो अर्मान्डो म्यारोडोना रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन स्कट म्याकटोमनीले दुई गोल गर्दा रोमेलु लुकाकुले अर्को एक गोल थपे ।
पहिलो हाफको १८ औं मिनेटमा लुकाकुको पासमा म्याकटोमनीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि दोस्रो हाफको ५६ औं मिनेटमा म्याथिस ओलिभेराको पासमा लुकाकुले गोल गर्दा नापोली २–० ले अघि बढ्यो ।
यता, ६१ औं मिनेटमा लुकाकुकै पासमा म्याकटोमनीले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा नापोली ३–० ले विजयी भयो ।
जितसंगै नापोलीले ३२ खेलबाट ६८ अंक जोडेर लिग तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
पराजित इम्पोलीको समान ३२ खेलमा २४ अंकसहित तालिकाको १९ औं स्थानमा झरेको छ ।