
एजेन्सी । म्यानचेस्टर सिटी इंग्लिस फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सनिवार राति च्याम्पियनसिप क्लब बर्नलीमाथि ६–० को फराकिलो जित निकाल्दै सिटी सेमिफानल प्रवेश गरेको हो ।
उपाधि दाबेदार सिटीको जितमा इर्लिङ हालान्डले ह्याट्रिक हान्दा जुलियान अर्भारेज दुई तथा कोल पालमेरले एक गोल गरे ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा ३२ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि पनि नर्वेजियन फरवार्ड हालान्डले ३५ र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा सिटी ३–० को आरामदायी अवस्थामा पुगेको थियो ।
६२ औं मिनेटमा अर्भारेजले गोल थप्दा सिटी ४–० को फराकिलो अग्रतातर्फ लम्कियो ।
६८ औं मिनेटमा पाल्मेरले गोल गर्दा घरेलु टोली ५–० ले अघि बढेयो ।
त्यसपछि ७३ औं मिनेटमा केभिन डिब्रुएनाको पासमा अल्भारेजले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा उपाधि दावेदार मानिएको सिटीले खेल ६–० को फराकिलो अन्तरले जित्यो ।
प्रतियोगिताअन्तर्गत बाँकी ३ क्वाटरफाइनलका खेलहरु आइतवार राति हुनेछन् ।