
एजेन्सी । युरोपेली क्लब फुटबलको सन् २०२३–२४ सिजन सकिएको छ ।
युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको फाइनल खेल सनिवार राति सकिएसंगै २०२३–२४ सिजन सकिएको हो ।
युरोपेली फुटबलको शीर्ष निकाय द युनियन अफ युरोपियन फुटबल एसोसियसन (युईएफए) ले प्रत्येक सिजन तीन श्रेणीको क्लबस्तरिय प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ ।
शीर्ष श्रेणीमा युईएफए च्याम्पियन्स लिग रहेको छ भने दोस्रो श्रेणीमा युईएफए युरोपा लिग र तेस्रो श्रेणीमा युईएफए युरोपा कन्फेरेन्स लिग रहेको छ ।
सन् २०२३–२४ को सिजनका युरोपेली च्याम्पियन क्लबहरुलाई नियालौं ।
रियल मड्रिड (युईएफए च्याम्पियन्स लिग विजेता)

स्पेनिस महारथी रियल मड्रिड युरोपेली शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको विजेता टोली हो ।
ला लिगा च्याम्पियन क्लबले युरोपेली शीर्ष प्रतिायेगिता जित्न जर्मन क्लब बुरुसिया डर्टमण्डलाई २–० ले पन्छायो ।
इंग्ल्याण्डको राजधानी लण्डनस्थित वेम्बली रंगशालामा भएको फाइनल खेलमा मड्रिडलाई उपाधि दिलाउन ड्यानी काभार्जल र भिनिसियस जुनियरले गोल गरे ।
योसंगै इटालियन प्रशिक्षक कार्लो एन्सोलोटीको नेतृत्वमा रहेको मड्रिडले क्रीतिमानी १५ औं पल्ट च्याम्पियन्स लिगको उपाधि उचाल्न सफल भएको छ ।
एटलान्टा (युईएफए युरोपा लिग विजेता)

इटालियन क्लब एटलान्टाले युरोपेली क्लब फुटबलको दोस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा लिगको विजेता टोली हो ।
आयरल्याण्डको डुब्लिनस्थित अभिभा रंगशालामामा भएको फाइनल खेलमा जारी सिजन उच्च लयमा रहेको जर्मन च्याम्पियन बायर लेभरकुसेनलाई ३–० ले पराजित गर्दै एटलान्टाले उपाधि जित्न सफल भयो ।
सिरी ए क्लबलाई ऐतिहासिक उपाधि दिलाउन अदेमोलो लुकम्यानले ह्याट्रिक प्रहार गर्दै उत्कृष्ट प्रदर्शन देखाए ।
युरोपा जितेसंगै एटलान्टाले ६ दशकको उपाधि खडेरी चिर्न पनि सफल बन्यो ।
ओलम्पियाकोस (युईएफए युरोपा कन्फेरेन्स लिग विजेता)

ग्रिक टोली ओलम्पियाकोस युरोपेली क्लब फुटबलको तेस्रो श्रेणीको प्रतियोगिता युईएफए युरोपा कन्फरेन्स लिगको विजेता टोली हो ।
ओलम्यिाकोसले उपाधि भिडन्तमा इटालियन क्लब फियोरेन्टिनालाई १–० ले पन्छायो ।
ग्रिसको एथेन्सस्थित एजिया सोफिया रंगशालामा भएको रोमाञ्चक खेलमा घरेलु टोलीलाई जिताउन अयुब इल काबीले एकमात्र निर्णायक गोल गरे ।
रोमाञ्चक खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट लम्बिएको थियो ।