एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत सिजनको अन्तिम खेलमा बार्सिलोना विजयी भएको छ ।
आईतवार राति भएको खेलमा सेभिल्लामाथि बर्सिलोना २–१ ले विजयी भएको हो ।
सेभिल्लाको घरेलु मैदान इस्टाडियो रामोन सान्चेज पिज्जुवान रंगशालामा भएको खेलमा भ्रमणकारी टोली बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र फेर्मिनले गोल गरे ।
पराजित घरेलु टोलीका लागि युस्सेफ इन नेसेरीले एक गोल फर्काए ।
खेल सुरु भएको १५ औं मिनेटमा जाओ क्यानसेलोको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
तर, ३१ औं मिनेटमा बौबाक्रे सौमारेको पासमा युस्सुफले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि दोस्रो हाफको ५९ औं मिनेटमा इल्के गुन्डुवानको पासमा फेर्मिनले गोल थप्दा बार्सिलोना २–१ ले विजयी भयो ।
जितसंगै ३८ खेलबाट ८५ अंक जोडेको बार्सिलोनाले तालिकाको दोस्रो स्थानमा रहेर लिग अन्त्य गरेको छ ।
पराजित सेभिल्लाको भने समान ३८ खेलमा ४१ अंकसहित तालिकाको १४ औं स्थानमा रहेको छ ।