एजेन्सी । मलेसियामा जारी एसीसी यु–१६ इस्ट जोन कपमा सिङ्गापुरमाथि फराकिलो जित हात पार्दै नेपाल फाइनल प्रवेश गरेको छ ।
सोमवार भएको सेमिफाइनल खेलमा नेपालले सिङ्गापुरमाथि ९७ रनको विशाल जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।
मलेसियास्थित बायुएमास ओमल खेल मैदानमा भएको सेमिफाइनल खेलमा १८५ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको सिङ्गापुर ३१.३ ओभरमा अलआउट हुँदा मात्र ८७ रनमा समेतिदा नेपालले ९७ रनको फराकिलो जित हात पार्यो ।
सिङ्गापुरका लागि प्रनभ धानुकाले १७ बलमा २ चौका प्रहार गर्दै १४ रन जोड्दै अविजित रहँदा रोहन रबिचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोड्दै रन आउट भए ।
त्यस्तै, कबिर बरेलाले १५ बल खेल्दै २ चौका मद्दतमा ११ न जोड्दै पेविलियन फर्किदा विकेटकिपर राहिल ठाकुर ७, रैना नाइक ५, हरिहरण ५, अस्लन अलीक्सी जाफ्री ३ रनमा आउट हुँदा अन्य ३ ब्याट्सम्यान शुन्य रनमा पेविलियन फर्किए ।
सिङ्गापुरले अतिरिक्त रुपमा १६ रन जोड्यो ।
सिङ्गापुरलाई सस्तैमा समेत्दै नेपाललाई जिताउन क्रितिक कामतले २.३ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिँदा कप्तान अभिषेक तिवारीले ४ ओभर बलिङ गर्दै ३० रन खर्चिएर १ विकेट लिए ।
त्यस्तै, प्रतिक पोखरेलले ४ ओभर बलिङ गर्दा २० रन दिएर १ विकेट हात पार्दा सन्तोष यादवले ७ ओभर बलिङ गर्दै मात्र ५ रन खर्चिएर १ विकेट लिए ।
यता, अशोक धामीले ७ ओभर बलिङ गर्दै १७ रन दिएर १ विकेट लिँदा नरेन भट्टले ७ ओभर बलिङ गर्नेक्रममा मात्र ४ रन दिएर १ विकेट लिए ।
त्यसअघि टस जित्दै पहिला ब्याटिङमा उत्रिएको नेपालले ३५ ओभर खेल्दा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
नेपालका लागि सुर्यान्शु कोईरालाले ४९ बलमा ६ चौका प्रहार गर्दै ४३ रन जोड्दा निरज कुमार यादवले ४९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोडे ।
त्यस्तै, कप्तान अभिषेक तिवारीले २१ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोड्दै पेविलियन फर्किदा सन्तोष यादवले २४ बल खेल्दै २ चौका प्रहार गर्दै १८ रन जोड्दै आउट भए ।
यता, प्रतिक भट्टराईले २९ बलमा १२ रन जोड्दै आउट हुँदा क्रितिक कामतले ५ बलमा १ चौका प्रहार गर्दै १० रनमा रनआउट भए ।
दिपु भुजेलले १५ बलको सामना गर्दा १ चौका प्रहार गर्दै १२ रनमा अविजित रहँदा विकेटकिपर आशिष लुहार ६, नरेन भट्ट ३ र अशोक धामी शुन्य रनमा पेविलियन फर्किए ।
प्रतिक पोखरेलले ३ रन जोड्दै अविजित रहे । नेपालले अतिरिक्त रुपमा १० रन जोड्यो ।
सिङ्गापुरका लागि हरिहरनले ७ ओभर बलिङ गर्दा ३१ रन दिएर ३ विकेट लिँदा कबिर बरेलाले ५ ओभर बलिङ गर्दै २८ रन दिएर २ विकेट लिए ।
त्यस्तै, हर्ष भेन्कटरामले ७ ओभर बलिङ गर्दै २ विकेट हात पार्दा प्रनभ धानुकाले ६ ओभर बलिङ गर्दै ४० रन खर्चिएर १ विकेट लिए ।