एजेन्सी । युरोपेली फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनल खेलमा म्यानचेस्टर सिटी र रियल मड्रिडले रोमाञ्चक बराबरी खेलेका छन् ।
मंगलवार राति भएको क्वाटरफाइनलअन्तर्गत पहिलो लेग खेलमा साविक विजेता म्यानचेस्टर सिटी र सर्वाधिक सफल क्लब रियल मड्रिडले ३–३ को रोमाञ्चक बराबरी खेलेका हुन् ।
मड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउ रंगशालामा भएको खेलमा रोड्रिगो र फेडेरिको भालभार्डेले गोल गर्दा अर्को एक गोल सिटीका रुविन डाइसको आत्मघातीमार्फत् प्राप्त भयो ।
यता, भ्रमणकारी टोलीका लागि भने बनार्डो सिल्भा, फिल फोडेन र जस्को ग्भार्डिओलले गोल गरे ।
खेल सुरु भएको दोस्रो मिनेटमा सिल्भाले गोल गर्दै साविक विजेता टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, १२ औं मिनेटमा सिटीका डिफेन्डर डाइसले आत्मघाती गोल गर्न पुग्दा खेल १–१ को बराबरीमा आयो ।
त्यसको दुई मिनेटपछि नै भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दा मड्रिड २–१ ले अघि बढ्यो ।
त्यसपछि दोस्रो हाफको ६६ औं मिनेटमा जोन स्टोनको असिस्टमा फोडेनले सिटीका लागि गोल गर्दा खेल २–२ को बराबरीमा आयो ।
यता, ७१ औं मिनेटमा ज्याक गिर्लिसको पासमा ग्भार्डिओलले गोल गर्दा सिटी ३–२ ले अघि बढ्यो ।
तर, ७९ औं मिनेटमा स्पेनिस क्लबका भिनिसियस जुनियरको पासमा भालभार्डेले गोल गर्दा खेल ३–३ को बराबरीमा सकियो ।