
एजेन्सी । प्रिमियर लिग प्रतिद्वन्दी न्युक्यासल युनाइटेडलाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रतिष्ठित प्रतियोगिता एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सनिवार राति भएको क्वाटरफाइनलअन्तर्गत खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै साविक विजेता म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
सिटीको घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा दुबै गोल बर्नाडो सिल्भाले गरे ।
खेल सुरु भएको १३ औं मिनेटमा रोड्रीको पासमा सिल्भाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यस्तै, ३१ औं मिनेटमा रुविन डायसको पासमा सिल्भाले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दै सिटीलाई २–० ले अघि बढाए ।
त्यसपछि खेलमा थप गोल निस्किएन र सिटीले सहज जित निकाल्न सफल भयो ।