एजेन्सी । साविक विजेता लिभरपूल एफए कपअन्तर्गत चौथौं चरणको खेलमा ब्राइटनसंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतवार राति भएको खेलमा लिभरपूल ब्राइटनसंग २–१ गोलअन्तरले पराजित हुँदै इंग्लिस फुटबलको लोकप्रिय प्रतियोगिताबाट बाहिरिएको हो ।
एमेक्स रंगशालामा ३० औं मिनेटमा मोहम्मद सलाहको पासमा युवा खेलाडी हाब्रे इलियोटले गोल गर्दा लिभरपूलले खेलमा १–० को अग्रता लिएको थियो ।
तर, ३९ औं मिनेटमा लिविस दङ्कले गोल गर्दै घरेलु टोलीलाई खेलमा १–१ को बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको ९२ औं मिनेटमा काउरु मितोमाले सुन्दर गोल गर्दा लिभरपूल २–१ ले पराजित भयो ।
बलियो लिभरपूलमाथि जित हात पारेको ब्राइटन भने प्रतियोगिताको पाँचौं चरणमा प्रवेश गरेको छ ।