एजेन्सी । इंग्लिस क्लब लिभरपूलमाथि पूनरागमन जित निकाल्दै स्पेनिस महारथी क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ ।
मंगलवार राति भएको खेलमा २–० ले पछि रहेको स्थितलाई पुनरागमन गर्दै साविक विजेता रियल मड्रिडले लिभरपूललाई उसैको घरेलु मैदानमा ५–२ को गोलअन्तरले पराजित गर्यो ।
मर्सिसाइड क्लबको घरेलु मैदान एन्डफिल्डमा मड्रिडका लागि करिम बेन्जामा र भिनिसियस जुनियरले २–२ गोल गर्दा इदर मिलिताओको नाममा १ गोल रह्यो । घरेलु टोलीका लागि दार्बिन नुनेज र मोहम्मद सलाहले गोल गरे ।
रोमाञ्चक खेलको चौथौं मिनेटमा नुनेजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि १४ औं मिनेटमा मड्रिडका गोलकिपर थिवाउट कर्टोसिसको गल्तीको फाइदा उठाउँदै सल्लाहले गोल गर्दै लिभरपूललाई २–० ले अघि बढाए ।
तर, २१ औं मिनेटमा भिनिसियसले गोल गर्दै मड्रिडलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि ३६ औं मिनेटमा भिनिसियसले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा खेल २–२ को बराबरीमा आयो ।
लिभरपूलका गोलकिपर एलिसनले क्लियर गर्न खोजेको बल भिनिसियसलाई लाग्दै गोलमा परिणत भएको थियो ।
४७ औं मिनेटमा लुका मोड्रिचको फ्रिकिकमा मिलिताओले हेड गोल गर्दै मड्रिडलाई ३–२ ले अघि बढाए ।
त्यसपछि बेन्जामाले ५५ र ६७ औं मिनेटमा २ गोल गर्दा मड्रिड ५–२ ले अघि रह्यो ।
योसंगै अवे खेलमा महत्वपूर्ण जितसंगै मड्रिडले ३ गोलको अग्रता समेत लिएको छ ।
अब अन्तिम १६ अन्तर्गत दोस्रो लेग खेल मड्रिडको मैदान स्यान्टियागो बेर्नाबाउमा मार्च १६ तारिखमा खेल्नेछ ।