भक्तपुर । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतवारको तेस्रो खेलमा मछिन्द्र फुटबल क्लब जावलाखेल युवा क्लबसंग स्तब्ध बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा साविक विजेतासमेत रहेको मछिन्द्र फुटबल क्लब जावलाखेल युवा क्लबसंग ३–१ गोलअन्तरले पराजित भएको हो ।

खेलको २४ औं मिनेटमा देवेन्द्र तामाङले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रले खेलमा सुरुवाती अग्रता दिलाए ।

पहिलो हाफ १–० ले अघि रहेको मछिन्द्रले दोस्रो हाफमा ३ गोल बेहोर्यो । ६० औं मिनेटमा जावलाखेलका हिसुफ थपलियाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि ७४ औं मिनेटमा एनकोटो मोसाबीले मछिन्द्रका गोकिपर विशाल श्रेष्ठको गल्तीको फाइदा उठाउँदै जावलाखेललाई २–१ ले अघि बढाए ।

७६ औं मिनेटमा कप्तान सिमान्त थापाले गोल गर्दै जावलाखेलको जित पक्का गरे । जितसंगै जावलाखेलले महत्वपूर्ण ३ अंक जोडेको छ ।

यसअघि दशरथ रंगशालामा आजै भएको पहिलो खेलमा नेपाल आर्मी क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँड्दा च्यासल रंगशालामा भएको खेलमा सातदोबाटो युवा क्लबले एनआरटीलाई २–१ ले पराजित गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.