
एजेन्सी । जारी सिजन उतारचढावपूर्ण प्रदर्शन देखाइरहेको नापोलीले इटालियन सिरी एमा उपाधि होडमा रहेको युभेन्टसलाई पराजित गरेको छ ।
आईतवार राति भएको खेलमा साविक विजेता समेत रहेको नापोलीले उपाधि पछ्याइरहेको युभेन्टसलाई २–१ ले पराजित गरेको हो ।
नापोलीको घरेलु मैदान दिएगो अर्मान्डो म्यारोडोना रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा केभिचा क्भारस्कालिया र ज्याकोमो रासपोदोरीले गोल गरे ।
भ्रमणकारी टोलीका लागि भने फेडेरिको चिएसाले एक गोल फर्काए ।
पहिलो हाफको ४२ औं मिनेटमा क्भारस्कालियाको गोलमा घरेलु टोलीले सुरुवाती अग्रता लियो ।
तर, दोस्रो हाफको ८१ औं मिनेटमा कार्लोस अलकाराजको असिस्टमा चिएसाले युभेन्टसका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ८८ औं मिनेटमा नापोलीका भिक्टर ओसमान पेनाल्टीमा चुके ।
लगत्तै, रासपोदोरीले गोल गर्दै नापोलीलाई २–१ ले जित दिलाए ।
महत्वपूर्ण जितसंगै नापोलीले २७ सिरी ए खेलबाट ४३ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ ।
पराजित युभेन्टसको समान २७ खेलमा ५७ अंकका साथ तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।