एजेन्सी । जर्मनीमा जारी युरो कपअन्तर्गत हेभिवेट भिडन्तमा स्पेनले इटालीमाथि जित निकालेको छ ।
विहिवार राति भएको हेभिवेट खेलमा स्पेनले साविक विजेता इटालीमाथि १–० को जित निकालेको हो ।
राइन वेस्टफेलियास्थित एरिना अफसाल्के रंगशालामा भएको खेलमा इटालीका रिर्काडो कालाफिरीको आत्मघाती गोलमार्फत् स्पेन विजयी भयो ।
तुलनात्मक रुपमा खेलमा प्रभाव जमाएको स्पेनले खेलको ५५ औं मिनेटमा कालाफिरीको आत्मघाती गोलमार्फत् १–० को अग्रता लियो ।
त्यसपछि खेलमा थप गोल भने निस्किएन ।
महत्वपूर्ण जितसंगै समूह ‘बी’ मा रहेको स्पेनले दुई खेलबाट ६ अंक जोड्दै समूह तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
योसंगै स्पेनले समूह चरणको एक खेल खेल्न बाँकी रहेको अवस्थामै अन्तिम १६ स्थान पक्का गरेको छ ।
पराजित इटालीको भने समान दुई खेलमा ३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ ।