
एजेन्सी । साविक विजेता इंग्ल्याण्ड ९ औं संस्करणको आईसीसी टि–२० विश्वकपको सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
आईतवार राति भएको सुपर ८ अन्तर्गत खेलमा सह–आयोजक राष्ट्र संयुक्त राज्य अमेरिकालाई १० विकेटले पराजित गरेसंगै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
जारी विश्वकपमा कमजोर सुरुवात गरेको इंग्ल्याण्डले सुपर ८ का खेलहरु सम्पन्न गर्दा ३ खेलबाट २ मा जित र १ मा हारको नतिजासहित ४ अंक जोड्दै ग्रुप २ को शीर्ष स्थानमा उक्लियो ।
अब सो ग्रुपबाट दक्षिण अफ्रिका र वेस्ट इन्डिजमध्ये १ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।
यता, एसोसियट राष्ट्र अमेरिका भने सुपर ८ का सबै ३ खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
बारबाडोसस्थित केनसिङटन ओभल रंगशालामा भएको खेलमा ११६ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले ९.४ ओभरमा विना कुनै विकेट क्षति ११७ रन जोड्यो ।
साविक विजेताको जितमा कप्तान जस बटलरले विष्पोटक पारी खेल्नेक्रममा ३८ बलमा ६ चौका र ७ छक्का प्रहार गर्दै ८३ रन जोडेर अविजित रहे ।
त्यस्तै, फिल साल्टले २१ बलमा २ चौका प्रहार गर्दै २५ रन जोडेर अविजित रहे ।
इंग्ल्याण्डले अतिरिक्त रुपमा ९ रन जोड्यो ।
त्यसअघि टस जितेको इंग्ल्याण्डले अमेरिकालाई पहिला ब्याटिङमा निम्त्यायो ।
अमेरिकाले १८.५ ओभरमा अलआउट हुँदै ११५ रन जोड्यो ।
अमेरिकाका लागि नितिश कुमारले २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोड्दै पेविलियन फर्किदा कोरे एडरसनले २८ बल खेल्नेक्रममा १ छक्का प्रहार गरेर २९ रन जोडेर आउट भए ।
त्यस्तै, हरमित सिंहले १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान स्टेभेन टेलरले १३ बल खेल्दै २ चौका प्रहार गरेर १२ रन जोड्दै पेविलियन फर्किए ।
यता, कप्तान आरोन जोन्सले १६ बलमा २ चौका प्रहार गर्दै १० रन जोडेर आउट हुँदा अर्का ओपनर तथा विकेटकिपर एन्ड्रेस गौस ८ र मिलिन्द कुमार ४ रनमा पेविलियन फर्किए ।
अमेरिकाका ४ ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।
अमेरिकाले अतिरिक्त रुपमा १ रन जोड्यो ।
सह–आयोजक टोलीलाई सस्तैमा अलआउट गर्न इंग्ल्याण्डका लागि क्रिस जोर्डनले २.५ ओभर बलिङ गर्दै मात्र १० रन दिएर ह्याट्रिकसहित ४ विकेट सर्वाधिक ४ विकेट लिए ।
त्यस्तै, अदिल रशिदले ४ ओभर बलिङ गर्दै १३ रन दिएर २ विकेट लिँद साम करनले २ ओभर बलिङ गर्नेक्रममा २३ रन खर्चिएर २ विकेट लिए ।
यता, लैम लिभिङस्टोन र रेस टोप्लेले समान १–१ विकेट लिए ।