
एजेन्सी । क्यानडामाथि सहज जित निकाल्दै अर्जेन्टिना ४८ औं संस्करणको कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।
बुधवार विहान भएको सेमिफाइनल खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी क्यानडामाथि २–० को सहज जित निकाल्दै साविक विजेता अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।
न्यु जर्सीको इस्ट रुथरफोर्डस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेसी र जुलियान अल्भारेजले गोल गरे ।
पहिलो हाफको २२ औं मिनेटमा रोड्रिगो डि पाउलको पासमा अल्भारेजले गोल गर्दै साविक विजेता टोलीलाई १–० ले अघि बढाए । त्यसपछि दोस्रो हाफको ५१ औं मिनेटमा इन्जो फर्नान्डेजको पासमा मेसीले गोल थप्दा अर्जेन्टिना २–० ले विजयी भयो ।
उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वेमध्ये एक टोलीसंग खेल्नेछ ।