एजेन्सी । स्विजरल्याण्डमाथि ट्राइब्रेकरमा जित निकाल्दै इंग्ल्याण्ड युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सनिवार राति भएको खेलमा स्विजरल्याण्डमाथि ट्राइब्रेकरमा ५–३ को जित निकाल्दै साविक उपविजेता इंग्ल्याण्ड युरो कपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
जर्मनीको डस्सेलडोर्फ सहरस्थित मेरकुर स्पिइल एरिना रंगशालामा भएको खेल निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट लम्बियो ।
तर, त्यसमा पनि गोल ननिस्किदा खेलको निर्णय ट्राइब्रेकरबाट भयो ।
ट्राइब्रेकरमा साविक उपविजेतालाई जिताउन कोल पाल्मर, जुधे बेलिङघम, बुकायो साका, इभान टोनी र ट्रेन्ट एलेक्जान्डर आर्नोल्डले गोल गरे ।
पराजित टोलीका लागि भने फाबियान स्चहर, छेर्डान शाकिरी र जाकी अमडौनीले गोल गर्दा म्यानुएल एकान्जीको प्रहार इंग्लिस गोलकिपर जोर्डन पिकफोर्डले बचाए ।
त्यसअघि निर्धारित समयको ७५ औं मिनेटमा ब्रिल एमबोलोले गोल गर्दै स्विजरल्याण्डलाई १–० ले अघि बढाए ।
तर, ८० औं मिनेटमा थ्री लायन्सका रुपमा समेत चिनिने इंग्ल्याण्डका लागि डिक्लेन राइसको पासमा साकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्यायो ।
इंग्ल्याण्डले सेमिफाइनलमा नेडरल्याण्ड्स र टर्कीएबीचको विजेतासंग खेल्नेछ ।