
एजेन्सी । स्लोभाकियामाथि पुनरागमन जित निकाल्दै इंग्ल्याण्ड युरो कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आईतवार राति भएको अन्तिम १६ अन्तर्गत खेलमा स्लोभाकियामाथि २–१ को पुनरागमन जित निकाल्दै साविक विजेता इंग्ल्याण्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
जर्मनीको जेलसेनक्रिचस्थित भेल्टिन्स एरिना रंगशालामा भएको खेलमा एक गोलले पछि परेको स्थितिलाई अन्तिमतिर उल्त्याउँदै इंग्ल्याण्डले जित निकाल्यो ।
इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केन र जुडे बेलिङघमले गोल गरे ।
पराजित टोलीका लागि भने इभान स्चरान्जले गोल गरे ।
पहिलो हाफको २५ औं मिनेटमा डेभिड स्ट्रेलेकको पासमा इभानले गोल गर्दै स्लोभाकियालाई सुरुवाती अग्रता दिलाए ।
यता, दोस्रो हाफको ५० औं मिनेटमा थ्री लायन्सका रुपमा समेत चिनिने इंग्ल्याण्डका फिल फोडेनले गरेको गोल भिएआरले मान्यता दिएन ।
त्यसपछि इंग्ल्याण्डलाई खेलमा फर्किन अन्तिम समयसम्म कुर्न पर्यो ।
खेलको इन्जुरी समयको पहिलो मिनेटमा इभान टोनीको पासमा केनले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यस्तै, इन्जुरी समयकै पाँचौं मिनेटमा मार्क गुइचीको पासमा बेलिङघमले गोल थप्दा इंग्ल्याण्ड २–१ ले विजयी भयो ।
अब साविक उपविजेता इंग्ल्याण्डले क्वाटरफाइनलमा स्विजरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।