भक्तपुर । २० वर्ष मुनीको दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ यु–२० च्याम्पियनसिप आईतवारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
छैटौं संस्करणको प्रतियोगितामा नेपालसहित साविक विजेता भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटान गरि ६ राष्ट्र सहभागी हुँदैछ ।
साविक उपविजेता पाकिस्तान भने प्रतियोगितामा सहभागी बन्ने छैन ।
प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।
समूह चरणमा तीन–तीन टोलीलाई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा आयोजक राष्ट्र नेपालसहित बंगलादेश र श्रीलंका रहँदा समूह ‘बी’ मा भने सर्वाधिक सफल टोली भारतसहित माल्दिभ्स र भुटान रहेका छन् ।
प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोली समूह विजेता र उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रत्येक समूहको पुच्छारमा रहने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले श्रीलंकासंग आईतवार खेल्ने तालिका रहेको छ ।
सन् २०१५ देखि सुरु भएको प्रतियोगिताको पाँच संस्करण सकिँदासम्म भारतले सर्वाधिक तीनपटक उपाधि जित्न सफल भएको छ ।
भारतले २०१९, २०२२ र २०२३ मा उपाधि जितेको थियो ।
भारतपछि नेपालले सन् २०१५ र २०१७ मा उपाधि जितेको छ ।