भक्तपुर । भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।
सोमवार भएको खेलमा नेपालले श्रीलंकामाथि ४–० को फराकिलो जित निकालेको हो ।
थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलमा नेपाललाई जिताउन सुजन डंगोलले ह्याट्रिक हान्दा विज्ञान खड्काले एक गोल गरे ।
खेल सुरु भएको चौथौं मिनेटमा एकराज बिकको पासमा सुजनले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि १२ औं मिनेटमा सुवास बमको असिस्टमा सुजनले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा नेपाल २–० ले अघि बढ्यो ।
त्यस्तै, ३० औं मिनेटमा कृष्णबहादुर आलेको असिस्टमा सुजनले गोल गर्दै ह्याट्रिक पूरा गर्दा नेपाल ३–० ले अघि बढ्यो ।
यता, दोस्रो हाफको अन्त्यतिर ८४ औं मिनेटमा विज्ञानले गोल गर्दा नेपाल ४–० ले विजयी भयो ।
फराकिलो जितसंगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट एकमा जित र एकमा हारको नतिजा आत्मसाथ गर्दै तीन अंक जोडेको छ ।
यो नतिजासहित नेपालको सेमिफाइनल पुग्ने सम्भावना पनि जिवित रहेको छ ।