एजेन्सी । अल नासेरले साउदी प्रोफेस्नल लिगमा अल ओख्दुदमाथि सहज जित निकालेको छ ।
विहिवार राति भएको खेलमा अल नासेरले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी अल ओख्दुदमाथि ३–१ को सहज जित निकालेको हो ।
अल नासेरको घरेलु मैदान अल अवाल पार्क रंगशालामा भएको खेलमा एक गोलले पछि परेको स्थितिलाई पुनरागमन गर्दै घरेलु टोलीले सहज जित निकाल्यो ।
खेल सुरु भएको छैटौं मिनेटमा साभियोर गडविनको गोलमार्फत् भ्रमणकारी टोलीले सुरुवाती अग्रता लियो ।
तर, २९ औं मिनेटमा साडियो मानेले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ४२ औं मिनेटमा कप्तान क्रिस्चियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दा अल नासेर २–१ ले अघि बढ्यो ।
यता, दोस्रो हाफको ८८ औं मिनेटमा सुल्टान अल घानमको पासमा मानेले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा अल नासेर ३–१ ले विजयी भयो ।
सहज जितसंगै अल नासेरले १४ खेलबाट २८ अंक जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
पराजित अल ओख्दोदको १३ खेलबाट १० अंकसहित तालिकाको १६ औं स्थानमा झरेको छ ।