
एजेन्सी । अल नासेरले साउदी प्रोफेस्नल लिगमा अल इतिफाकमाथि सहज जित निकालेको छ ।
शुक्रवार राति भएको खेलमा आल नासेरले अल इतिफाकमाथि ३–० को सहज जित निकालेको हो ।
इतिफाकको घरेलु मैदान अल इतिफाक क्लब स्टेडियममा भएको खेलमा भ्रमणकारी टोली अल नासेरलाई जिताउन कप्तान क्रिस्चियानो रोनाल्डो, सलिम अल नाजदी र तालिस्काले गोल गरे ।
पहिलो हाफको ३३ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासेरलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि ५६ औं मिनेटमा साडियो मानेको पासमा सलिमले गोल थप्दा अल नासेर २–० ले अघि बढ्यो ।
यता, ७० औं मिनेटमा मानेकै पासमा तालिस्काले गोल थप्दा अल नासेरले खेल ३–० ले जित्यो ।
सहज जितसंगै अल नासेरले ४ लिग खेलबाट ८ अंक जोड्दै तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
पराजित अल इतिफाकको भने ४ खेलबाट ९ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।