
एजेन्सी । अल नासेरले साउदी प्रोफेस्नल लिगमा अल फेहामाथि फराकिलो जित हासिल गरेको छ ।
मंगलवार राति भएको खेलमा अल नासेरले अल फेहामाथि ४–१ को फराकिलो जित हासिल गरेको हो ।
फेहाको घरेलु मैदान किंग अब्दुल्लाह स्पोर्ट सिटी स्टेडयममा भएको खेलमा अल नासेरको जितमा टालिस्काले दुई गोल गर्दा कप्तान क्रिस्चियानो रोनाल्डो र मार्सेलो ब्रोजोभिकले समान एक–एक गोल गरे ।
पराजित घरेलु टोलीका लागि भने फाशन साकालाले सान्तोना गोल फर्काए ।
खेल सुरु भएको पाँचौं मिनेटमा रोनाल्डोको पासमा टालिस्काले गोल गर्दै अल नासेरलाई सुरुवाती अग्रता दिलाए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयको १० औं मिनेटमा रोनाल्डोले फ्रिकिकमार्फत् गोल गर्दै अल नासेरलाई २–० ले अघि बढाए ।
यता, दोस्रो हाफको ८५ औं मिनेटमा साडियो मानेको पासमा ब्रोजोभिकले गोल थप्दा अल नासेर ३–० ले अघि बढ्यो ।
त्यसको एक मिनेटपछि नै घरेलु टोलीका लागि पोजुएलोको पासमा साकालाले गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।
तर, खेलको इन्जुरी समयको पाँचौं मिनेटमा टालिस्काले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा अल नासेर ४–१ ले विजयी भयो ।
फराकिलो जितसंगै अल नासेरले दुई खेलबाट चार अंक जोड्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।