एजेन्सी । साउदी अरेबियाले सन् २०३४ को फिफा विश्वकप आयोजना गर्ने भएको छ ।
फुटबलको शीर्ष निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एसियाली मध्यपूर्वी राष्ट्र साउदीलाई अधिकार दिइएको घोषणासंगै साउदी अरबियाले विश्वकपको आयोजना गर्ने पक्का भएको हो ।
फिफाका सबै २११ सदस्य राष्ट्रको सहभागिता रहेको फिफा एक्स्ट्रा अर्डिनरी कंग्रेसको भर्चुअल बैठकले साउदी अरबियालाई विश्वकप आयोजक राष्ट्रका रूपमा स्वीकार गर्ने निर्णय गर्यो ।
साउदीले अधिकार प्राप्त गरेसंगै १० वर्षपछि एसियामा पुनः विश्व फुटबलको शीर्ष प्रतियोगिता फर्किने निश्चित बन्यो ।
एसियाली भूमीमा भने समग्रमा यो तेस्रो अवसर हुनेछ ।
त्यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकपको आयोजना गर्दा पछिल्लो पटक कतारले सन् २०२२ मा आयोजना सम्पन्न गरेको थियो ।
त्यस्तै, फिफाले सन् २०३० को आयोजक राष्ट्र पनि घोषणा गरेको छ ।
पोर्चुगल, मोरक्को र स्पेनले अधिकार प्राप्त गरे ।
अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा पनि विश्वकप खेल संचालन हुनेछ ।
सन् २०३० मा विश्व फुटबलकै सर्वाधिक लोकप्रिय प्रतियोगिता विश्वकप सुरू भएको एक सय वर्ष पूरा हुनेछ ।
यता, आउने सन् २०२६ को विश्वकप भने संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदैछ ।