भक्तपुर । पोखरामा जारी २२ औं आहा रारा पोखरा गोल्डकपको फाइनलमा संकटा क्लब प्रवेश गरेको छ ।
संकटाले साविक विजेता एपीएफ क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
बुधवार पोखरा रंगशालामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा ए डिभिजन क्लब संकटाका लागि विदेशी खेलाडी स्टफन विनोङ र मेसुके ओलोमोउले २–२ गोल गरे । पराजित टोलीका लागि हरि कार्कीले सान्तोना गोल फर्काए ।
खेलको ५ औं मिनेटमा संकटाले स्टेफनको गोलमार्फत अग्रता लिएको थियो । त्यस्तै, ४३ औं मिनेटमा मेसुकेले गोल गर्दा संकटा २–० ले अघि बढेको थियो ।
दोस्रो हाफको ६१ औं मिनेटमा स्टेफेनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा संकटा ३–० को आरामदायी अवस्थामा पुग्यो ।
यता, ७४ औं मिनेटमा विभागिय टिमले एक गोल फर्काएर खेलमा फर्कने कोशिस जारी राख्यो । तर, ८६ औ मिनेटमा मेसुकेले गोल गरेपछि खेल संकटाले ४–१ ले जित्यो ।
अब संकटाले चर्च ब्वाइज युनाइटेड र भुटानीज युथ एस सी युएसएको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।