एजेन्सी । श्रीलंकाले ९ औं संस्करणको एसीसी महिला टि–२० एसिया कपको उपाधि जितेको छ ।
आईतवार भएको फाइनल खेलमा साविक विजेता समेत रहेको भारतलाई ८ विकेटले पराजित गर्दै श्रीलंकाले एसियाली महिला क्रिकेटको शीर्ष प्रतियोगिता जितेको हो ।
महिला क्रिकेटमा यो श्रीलंकाको पहिलो एसिया कप उपाधि हो ।
श्रीलंकाको दमबुल्लास्थित रनगिरी दमबुल्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा १६६ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले १८.४ ओभरमा मात्र २ विकेट गुमाउँदै १६७ रन जोड्यो ।
श्रीलंकालाई ऐतिहासिक उपाधि दिलाउन हरशिथा मादभीले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६९ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा कप्तान चामरी अथापथ्थुले ३४ बल खेल्नेक्रममा ९ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकिय पारी खेलिन् ।
त्यस्तै, कभिशा दिलहारीले १६ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३० रन जोडेर अविजित रहँदा भिश्मी गुनारत्ने भने १ रनमा रनआउट भइन् ।
श्रीलंकाले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
भारतका लागि दिप्ती शर्माले १ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १६५ रन जोड्यो ।
भारतका लागि स्मृति मण्डनाले ४७ बलमा १० चौका प्रहार गर्दै ६० रनको अर्धशतकिय पारी खेल्दा विकेटकिपर रिचा घोषले १४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडेर पेविलियन फर्किन् ।
त्यस्तै, जेमिम्ह रोड्रिगेसले १६ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडेर रनआउट हुँदा शफाली बर्माले १९ बल खेल्दै २ चौका प्रहार गरेर १६ रन जोडेर पेविलियन फर्किन् ।
यता, कप्तान हर्मनप्रित कौरले ११ बलमा १ चौका मद्दतमा ११ रन जोडेर पेविलियन फर्किदा उमा क्षेत्री ९ रनमा आउट भइन् ।
पुजा भस्ट्राकर ५ र राधा यादव १ रनमा अविजित रहिन् ।
भारतले अतिरिक्त रुपमा ४ रन जोड्यो ।
श्रीलंकाका लागि काभिशा दिलहारीले २ विकेट लिँदा चमारी अथापथ्थु, उदेशिखा प्रबोधानी र सचिनी निसंकाले समान १–१ विकेट लिइन् ।