एजेन्सी । भारतमा जारी १३ औं संस्करणको आईसीसी क्रिकेट विश्वकपअन्तर्गत समूह चरणको आठौं खेलमा पाकिस्तानले श्रीलंकामाथि रोमाञ्चक जित हासिल गरेको छ ।
मंगलवार भएको दोस्रो तथा अन्तिम खेलमा पाकिस्तानले श्रीलंकामाथि ६ विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।
रोमाञ्चक जितसंगै पाकिस्तानले समूह चरणमा दुई खेल खेलिसक्दा दुबैमा जित हात पार्दै ४ अंक जोडेको छ । पराजित श्रीलंकाले भने खेलेको दुबै खेलमा हारको नतिजा आत्मसाथ गरेको छ ।
भारतको हैदराबादस्थित राजिब गान्धी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा ३४५ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
योसंगै पाकिस्तानले एकदिवसिय विश्वकपमा हालसम्मकै विशाल विजयी लक्ष्य पछ्याउँदै जित हात पारेको क्रीतिमान पनि बनायो । यसअघि कुनैपनि टोलीले विश्वकपमा ३४५ रनको विशाल विजयी लक्ष्य पछ्याएको थिएन ।
त्यस्तै, विश्वकपको एकै खेलमा चार शतक प्रहार भएको पहिलो खेल पनि यसै खेल बन्यो । श्रीलंकाका कुशल मेन्डिस र सदिरा समराविक्रमाले शतक प्रहार गर्दा पाकिस्तानका अब्दुल्लाह शफिक र मोहम्मद रिजवानले शतक प्रहार गरे ।
विशाल विजयी लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका लागि विकेटकिपर मुहम्मद रिजवानले १२१ बलमा ८ चौका र ३ छक्का पैहार गर्दै १३१ रनको शतकिय पारी खेल्दै अविजित रहँदा ओपनर ब्याट्सम्यान अब्दुल्लाह शफिकले १०३ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै ११३ रन जोड्दै शतकिय पारी खेले ।
त्यस्तै, साउद शकिलले ३० बलमा २ चौका प्रहार गर्दै ३१ रन जोड्दै आउट हुँदा इमाम उल हकले १२ बल खेल्दै १ चौका मद्दतमा १२ रन नै जोडेर पेविलियन फर्किए ।
कप्तान बाबर आजामले १५ बलको सामना गर्दा १ चौका प्रहार गर्दै १० रन जोड्दै आउट हुँदा इफ्टिखर अहमेदले १० बलमा ४ चौका प्रहार गर्दै २२ रन जोडेर अविजित रहे ।
पाकिस्तानले अतिरिक्त रुपमा २६ रन जोड्यो ।
श्रीलंकाका लागि दिलशान मधुशङ्काले ९.२ ओभर बलिङ गर्नेक्रममा ६० रन दिएर २ विकेट लिँदा महेश थिकशाना र माथिशा पाथिराणले समान १–१ विकेट लिए ।
त्यसअघि टस जित्दै पहिला ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै ३४४ रन जोड्यो ।
श्रीलंकाका लागि विकेटकिपर कुशल मेडिसले ७७ बलमा १४ चौका र ६ छक्का प्रहार गर्दै १२२ रनको शतकिय पारी खेल्दा सदिरा समराविक्रमाले ८९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै १०८ रनको शतकिय इनिङ्स खेले ।
त्यस्तै, ओपनर ब्याट्सम्यान पाथुम निस्साङ्काले ६१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेल्दा धनन्जय दि सिल्भाले ३४ बल खेल्नेक्रममा ३ चौका प्रहार गर्दै २५ रन जोडेर आउट भए ।
कप्तान दासुन शानाकाले १८ बलमा १२ रन जोड्दै पेविलियन फर्किदा दुनिथ वेल्लालागेले ८ बलमा १ चौका प्रहार गर्दै १० रन जोड्दै आउट भए ।
यता, चरिथ असलङ्का १ रनमा आउट हुँदा महेश थेकशाना र कुशल परेरा शुन्य रनमा आउट भए ।
मथेशा पाथिराणा १ रनमा अविजित रहे । श्रीलंकाले अतिरिक्त रुपमा १४ रन जोड्यो ।
पाकिस्तानका लागि हस्सन अलीले १० ओभर बलिङ गर्नेक्रममा ७१ रन दिएर ४ विकेट लिँदा ह्यारिस रौफले १० ओभर बलिङ गर्दै ६४ रन दिँदै २ विकेट लिए ।
त्यस्तै, शाहिन अफ्रिदी, मोहम्मद नवाज र सादाब खानले समान १–१ विकेट लिए ।
प्रतियोगिताअन्तर्गत भोली (बुधवार) घरेलु टोली भारत र अफगानिस्तानबीच खेल हुनेछ ।