एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी महिला टि–२० विश्वकपमा अष्ट्रेलियाले श्रीलंकामाथि १० विकेटको जित हात पारेको छ ।
विहिवार राति भएको खेलमा ११३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १५.५ ओभरमा विना कुनै विकेट क्षति ११३ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
अष्ट्रेलियाको जितमा बेथ मुनी र एलिसा हिलेले अविजित रहँदै खेल जिताए । दुबै खेलाडीले अर्धशतक प्रहार गरे ।
सेन्ट जोर्जेज पार्क रंगशालामा भएको खेलमा अष्ट्रेलियाका लागि बेथ मुनीले ५३ बलमा ७ चौका मद्दतमा सर्वाधिक ५६ रन जोड्दा विकेटकिपर एलिसा हिलेले ४३ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बटुलिन् । ३ रन अतिरिक्त रुपमा अष्ट्रेलियाले बटुलेको थियो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा आएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै ११२ रन जोडेको थियो ।
श्रीलंकाका लागि हरशिथा समाराविकरामाले ४० बलमा ३ चौका प्रहार गर्दै सर्वाधिक ३४ रन जोडिन् । भिश्मी गुनारान्तेले ३३ बल खेल्दै १ चौका मद्दतमा २४ रन जोडिन् ।
त्यस्तै, कप्तान चमारी अथापाथथु १६ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोड्दा निलाक्षी दि सिल्भाल ७ बलकम २ चौका प्रहार गर्दै अविजित १५ रन जोडिन् ।
श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । श्रीलंकाले ७ रन अतिरिक्त रुपमा पाएको थियो ।
अष्ट्रेलियाका लागि मेगन सटले सर्वाधिक ४ विकेट लिँदा ग्रेस ह्यारिसले २ विकेट हात पारिन् । त्यस्तै, एलिस पेरी र जोर्जिया वारेमले १–१ विकेट लिईन् ।
अष्ट्रेलियाले ३ खेलमा ३ मै जित हात पार्दै ६ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । यता, श्रीलंकाको ३ खेलमा २ मा जित र १ मा हार बेहोर्दै ४ अंकका साथ समूह ‘ए’ को दोस्रो स्थानमा छ ।