एजेन्सी । सह–आयोजक टोली वेस्ट इन्डिजमाथि जित निकाल्दै दक्षिण अफ्रिका आईसीसी टि–२० विश्वकपको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको छ ।
सोमवार विहान भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजमाथि ३ विकेटको जित निकाल्दै दक्षिण अफ्रिका टि–२० विश्वकपको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको हो ।
सुपर ८ को अन्तिम खेल जितेसंगै दक्षिण अफ्रिकाले ३ खेलबाट शतप्रतिशत जितका साथ ६ अंक जोड्दै ग्रुप २ को विजेता समेत बन्यो ।
त्यसअघि सोहि समूहको आईतवार राति साविक विजेता इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको थियो ।
वेस्ट इन्डिज भने सुपर ८ मा ३ खेलबाट १ मा जित र २ मा हारको नतिजासहित २ अंक जोड्दै तालिकाको तेस्रो स्थानम रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
अन्टिगुवा एन्ड बरबुडास्थित सर भिभियान रिचार्ड्स स्टेडियममा भएको खेलमा १३६ रनको विजयी लक्ष्य पाएको दक्षिण अफ्रिकाले दोस्रो ओभर खेलिरहेको क्रममा वर्षा भएसंगै खेल केहि बेर रोकियो ।
जसले गर्दा डिएलएस पद्दतिमार्फत् खेललाई निर्धारित २० ओभरबाट घटाएर १७ ओभरमा झारियो ।
योसंगै दक्षिण अफ्रिकाले पनि १२३ रनको नयाँ विजयी लक्ष्य पायो ।
१२३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै १२४ रन जोड्यो
दक्षिण अफ्रिकाको जितमा ट्रिस्टन स्टुब्सले २७ बलमा ४ चौका प्रहार गर्दै २९ रन जोडेर आउट हुँदा हेनरिक क्लासेनले १० बल खेल्दै ३ चौका र १ छक्का प्रहार गर्दै २२ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, कप्तान ऐडेन मार्करामले १५ बलमा २ चौका प्रहार गर्दै १८ रन जोडेर आउट हुँदा मार्को जनसेनले १४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोड्दै अविजित रहे ।
यता, ओपनर ब्याट्सम्यान तथा विकेटकिपर क्विन्टन डि ककले ७ बलमा ३ चौका प्रहार गर्दै १२ रन लोड्दै आउट हुँदा डेभिड मिल्लर ४ र केशब महाराज २ रन जोड्दै अविजित रहे ।
कागिसो राबाडा ५ रनमा अविजित रहँदा रिजा हेन्डरिक्स शुन्य रनमा पेविलियन फर्किए ।
दक्षिण अफ्रिकाले अतिरिक्त रुपमा ११ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि रोस्टन चेसले ३ विकेट लिँदा आन्ड्रे रस्सेल र अल्जारी जोसेफले समान २–२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १३५ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि रोस्टन चेसले ४२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ५२ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान केल मायर्सले ३४ बल खेल्नेक्रममा ३ चौका र २ छक्का प्रहार गर्दै ३५ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, आन्ड्रे रस्सेलले ९ बलमा २ छक्का प्रहार गर्दै १५ रन जोड्दै रनआउट हुँदा अल्जारी जोसेफले ७ बल खेल्दै १ छक्का प्रहार गर्दै ११ रन जोडेर अविजित रहे ।
यता, गुडाकेश मोटी ४ रनमा अविजित रहँदा अकिल हुसेन ६, कप्तान रोभमान पावेल र विकेटकिपर निकोलास पुरन समान १–१ रनमा पेविलियन फर्किए ।
घरेलु टोलीका शाई होप र शेरफान रुथरफोर्ड अंकको खाता नै नखोली पेविलियन फर्किए ।
वेस्ट इन्डिजले अतिरिक्त रुपमा १० रन जोड्यो ।
दक्षिण अफ्रिकाका लागि तब्राइज शाम्सीले ३ विकेट लिँदा कप्तान ऐदिन मार्कराम, मार्को जनसेन, केशव महाराज र कागिसो राबाडाले समान १–१ विकेट लिए ।